बीमालेख धितोमा झण्डै खर्ब कर्जा प्रवाह, नेपाल लाइफबाट बीमितले लिए सर्वाधिक
काठमाडौं । जीवन बीमा कम्पनीहरूले करिब एक खर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात पुस मसान्तसम्ममा बीमालेख धितो राखेर बीमितहरूलाई ९५ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी कर्जा लिएका हुन् । समग्र वाणिज्य बैंकको कर्जाभन्दा जीवन बीमा कम्पनीहरुबाट प्रवाहित कर्जाको बढोत्तरी धेरै देखिएको छ । चालु आवको माघसम्म वाणिज्य बैंकको कर्जा लगानी ५.६२ प्रतिशत विस्तार भएकोमा बीमालेख धितोमा प्रवाहित हुने कर्जा चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६.६२ प्रतिशतले वृद्धि भएको हो । तथ्यांक अनुसार गत आवको दोस्रो त्रैमास (२०८० पुससम्म) मा जीवन बीमक कम्पनीहरूले ८९ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका थिए । गत आवको सोही अवधिको तुलनामा समीक्षा अवधिमा कर्जा प्रवाह अर्ब करोड रुपैयाँले बढेर ९५ अर्ब ३३ करोड रुपैयाँ पुगेको हो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बीमालेख धितोमा सबैभन्दा बढी कर्जा प्रवाह गर्ने कम्पनीको सूचीमा अग्रस्थानमा रहेको छ। नेपाल लाइफले यो अवधिमा ३५ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसले यसलाई प्रमुख जीवन बीमा कम्पनीहरूको अग्र पंक्तिमा अघि बढाएको छ। यसका अतिरिक्त, एलआईसी नेपालले २१ अर्ब ८३ करोड रुपैयाँ, नेशनल लाइफले ११ अर्ब ५६ करोड रुपैयाँ, हिमालयन लाइफले ७ अर्ब ३८ करोड रुपैयाँ र एशियन लाइफले ५ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अन्य प्रमुख कम्पनीहरूमा सूर्यज्योति लाइफले ४ अर्ब ४४ करोड रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले २ अर्ब ६७ करोड रुपैयाँ, मेट अमेरिकन लाइफले १ अर्ब ८१ करोड रुपैयाँ, सानिमा रिलायन्सले १ अर्ब ३६ करोड रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले १ अर्ब १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यसैगरी पुससम्म सिटिजन लाइफले ९१ करोड रुपैयाँ, आइएमई लाइफले ८१ करोड रुपैयाँ, सन् नेपाल लाइफले ६५ करोड रुपैयाँ र रिलायबल नेपाल लाइफले ४६ करोड रुपैयाँ बीमालेख धितो राखेर कर्जा प्रवाह गरेका छन् । वृद्धिदरको हिसाबले आइएमई लाइफले बीमालेख धितोमा प्रवाह हुने कर्जा सबैभन्दा बढी ३७.६० प्रतिशत वृद्धि गरेको छ। यसका अतिरिक्त, सिटिजन लाइफको कर्जा प्रवाह ३१.८९ प्रतिशतले, रिलायबल नेपाल लाइफको २९.७६ प्रतिशत, सन नेपाल लाइफको २५.०६ प्रतिशत, सानिमा रिलायन्स लाइफको २२.०२ प्रतिशत र सूर्यज्योति लाइफको २१.९८ प्रतिशतले वृद्धि भएको तथ्उांक छ। समीक्षा अवधिमा एलआईसी नेपाल र राष्ट्रिय जीवन बीमा कम्पनीका कर्जा प्रवाहमा घटेको छ । एलआईसी नेपालको कर्जा प्रवाह ०.४१ प्रतिशत र राष्ट्रिय जीवन बीमा कम्पनीको कर्जा प्रवाह ७.५९ प्रतिशतले घटेको हो ।
Shares