हेलम्बुमा ७४ जनाको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया

अर्थकागज
प्रकाशित: १७ मंसिर २०८२
Image description


हेलम्बु — नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पतालले हेलम्बु गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा स्वास्थ्य शिविरमार्फत ७४ जनाको मोतिबिन्दु शल्यक्रिया सम्पन्न गरेको छ। रिड्ली आई फाउन्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविर मंसिर ५ देखि ९ गतेसम्म विभिन्न वडामा प्रारम्भिक जाँचपछि छनौट भएका बिरामीहरूको शल्यक्रिया मंसिर १० र ११ गते हेलम्बु प्राथमिक अस्पताल, किउलमा सम्पन्न गरिएको हो।

किर्तिपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक बिशाल थापा अनुसार शिविरमा ९५५ जनाको आँखा परीक्षण गरिएको थियो। जसमध्ये १५६ जनामा मोतिबिन्दुको समस्या पहिचान गरिएको र तीमध्ये ७४ जनाको शल्यक्रिया गरिएको अस्पतालले जानकारी दिएको छ।

शल्यक्रिया आँखा जाँच सेवा नेत्ररोग विशेषज्ञ डा. एरिक बैद्यको नेतृत्वमा रहेको अनुभवी चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले प्रदान गरेको हो । त्यस्तै शिबिरमा दृष्टिदोषको समस्या देखिएका १३४ जनालाई निःशुल्क चस्मा समेत वितरण गरिएको थियो ।

नेपाल नेत्रज्योति संघका तथ्यांक अनुसार स्थापना कालदेखि सन् २०२४ को अन्त्यसम्म संघअन्तर्गतका अस्पतालहरूले ४ करोड ६८ लाखभन्दा बढी नागरिकलाई आँखा उपचार सेवा प्रदान गरिसकेका छन्। यस्तै, ५३ लाखभन्दा बढी आँखाका शल्यक्रिया सम्पन्न भइसकेका छन्।

भारत, बंगलादेश, भुटानलगायत छिमेकी मुलुकका नागरिकसमेत संघअन्तर्गतका अस्पतालहरूमा उपचारका लागि आउने गरेको तथ्यांकले देखाउँछ। सन् २०२४ मा मात्र ९ लाखभन्दा बढी विदेशी नागरिकले परीक्षण गराउँदा १ लाख ६० हजारभन्दा बढीले शल्यक्रिया सेवा प्राप्त गरेका थिए।

प्रतिक्रियाहरू

सम्बन्धित खबर