ट्रम्पको रुससँगको सहकार्यले जेलेन्स्कीलाई कमजोर बनाउने !

अर्थकागज
प्रकाशित: २६ असोज २०८३
Image description

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तत्काल लागू हुने गरी ऊर्जा युद्धविराम भएको घोषणा गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको संकट बढ्ने विश्लेषण गरिएको छ । 

ट्रम्पले दुवै पक्ष यसमा सहमत भएको दाबी गरेपछि जेलेन्स्कीले भने यस घोषणाबारे अचानक जानकारी पाएको बताएका थिए । रुसले सहमति जनाएको पुष्टि नभएकाले युद्धविराम कार्यान्वयन हुने विषयमा अनिश्चितता कायमै रहेको छ ।

जेलेन्स्कीले युक्रेन ऊर्जा युद्धविरामको पक्षमा रहेको बताउँदै रुसले पनि यसलाई स्वीकार गर्नुपर्ने बताएका छन् । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पसँगको कुराकानीमा प्रस्तावको समर्थन गरेका छन् र उनले रुसलाई सम्झौता पालना गर्न तथा ऊर्जा पूर्वाधार र सर्वसाधारणमाथिका आक्रमण तत्काल रोक्न आग्रह गरेका छन् । कार्नीले अमेरिकामा तेल र डिजेल निर्यात जारी राख्ने पनि बताएका छन् ।

बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले सप्ताहान्तमा रुसले युक्रेनका ऊर्जा केन्द्रमाथिका आक्रमण तीव्र बनाएको बताएका छन् । उनका अनुसार आक्रमणका कारण सर्वसाधारण चिसो र अँध्यारोमा बस्न बाध्य भइरहेका छन्। रुसले आक्रमण रोकेमा युक्रेन युद्धविरामका लागि तयार रहेको उनको भनाइ छ ।

आइतबार, जेलेन्स्कीले रुसले युक्रेनका विभिन्न विद्युत् केन्द्रलाई निशाना बनाएको आरोप लगाएका थिए । तीमध्ये राजधानी किएभ र खार्किभका एक–एक ऊर्जा केन्द्र रहेको उनले बताएका छन् । आक्रमणका कारण विद्युत् आपूर्ति प्रभावित भएको उनको भनाइ छ । युक्रेनको आकाशमा दिनभर रुसी शाहेद मानवरहित विमान उडिरहेको पनि उनले बताएका छन् ।

रुसले सन् २०२२ मा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि नै ऊर्जा पूर्वाधारलाई निरन्तर निशाना बनाउँदै आएको छ । यसले विद्युत् तथा ताप आपूर्तिमा समस्या उत्पन्न गरेको छ । जवाफी कारबाहीका क्रममा युक्रेनले पनि रुसी तेल प्रशोधन केन्द्रलाई निशाना बनाउँदै आएको छ । ती केन्द्रबाट रुसले युद्धका लागि आर्थिक स्रोत जुटाउने युक्रेनको दाबी छ ।

अर्कोतर्फ, ऊर्जा युद्धविरामको प्रस्ताव अघि बढिरहेका बेला रुसबाट डिजेल खरिद गर्ने अमेरिकी निर्णयलाई लिएर पनि विवाद चर्किएको छ । ट्रम्पले युद्धविराम घोषणा गर्नुभन्दा दुई दिनअघि रुसी डिजेलमाथि लगाइएका अमेरिकी प्रतिबन्धमा अस्थायी छुट दिने सम्झौता घोषणा गरेका थिए ।

युक्रेन र उसका युरोपेली सहयोगीहरूले उक्त निर्णयको विरोध गरेका छन् । जेलेन्स्कीले यसलाई कमजोर निर्णय भनेका छन् । क्यानडाका प्रधानमन्त्री कार्नीले पनि उक्त सम्झौता युरोपमा शान्ति र स्थिरता कायम गर्ने प्रयासविपरीत रहेको बताएका छन् । चार रिपब्लिकनसहित सात अमेरिकी सिनेटरले आइतबार उक्त सम्झौतालाई अवैध भएको बताएका छन् । पश्चिम एसियामा जारी युद्ध र होर्मुज जलडमरूमध्यमा अवरोधका कारण तेलको मूल्य बढ्नु पनि अमेरिकी प्रशासनका लागि चिन्ताको विषय बनेको छ ।

ट्रम्पले शनिबार युक्रेनलाई युद्ध अन्त्य गर्न सक्ने नयाँ राष्ट्रपति आवश्यक रहेको टिप्पणी गरेका थिए । त्यसको जवाफमा जेलेन्स्कीले देशको नेतृत्व कसले गर्ने भन्ने निर्णय युक्रेनी जनताले नै गर्ने बताएका छन् ।

जर्मनीका विदेशमन्त्री योहान वाडेफुलले जेलेन्स्की र युक्रेनी सरकारलाई निरन्तर समर्थन गर्ने बताएका छन् । युरोपेली आयोगकी अध्यक्ष उर्सुला फन डेर लेयनले पनि युक्रेनको स्वतन्त्रताका लागि भइरहेको संघर्षमा जेलेन्स्कीलाई समर्थन गरेकी छन् । किभका केही नागरिकले समेत ट्रम्पको टिप्पणीप्रति चिन्ता व्यक्त गरेका छन् । उनीहरूले युक्रेनको भविष्यबारे निर्णय गर्ने अधिकार युक्रेनी जनताकै हुनुपर्ने बताएका छन् ।

रुस र युक्रेनबीच आक्रमण जारी रहेको आरोप लागिरहेका बेला ट्रम्पले ऊर्जा युद्धविराम घोषणा गरे पनि रुसी राष्ट्रपति भ्लादमिर पुटिन भने मौन रहेका छन् । अमेरिकामा अर्को महिना हुने मध्यावधि निर्वाचनअघि इन्धनको बढ्दो मूल्य पनि ट्रम्प प्रशासनका लागि चुनौती बने पनि उनले रुससँग यस्तो सम्झौता गरेको अनुमान गरिएको छ ।

रुसबाट डिजेल खरिद गर्ने निर्णय र ऊर्जा युद्धविरामको समर्थनले अमेरिकी नीतिबारे प्रश्न उठाएको छ। अहिले मुख्य प्रश्न रुसले ऊर्जा केन्द्रमाथिका आक्रमण रोक्न सहमति जनाउछ कि जनाउँदैन भन्ने हो ।

मस्कोको आधिकारिक धारणा स्पष्ट नभएसम्म ऊर्जा युद्धविराम वास्तवमै कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने विषय अनिश्चित रहनै रहेको छ भने यो घोषणा कार्यान्यवनमा आएमा पनि जेलेन्स्की कमजोर बनाउने विश्लेषण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर