ईपानको निर्वाचनमा बलराम खतिवडाको नेतृत्वमा नयाँ प्यानल घोषणा
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल ईपानको २४औँ वार्षिक साधारणसभा अन्तर्गत हुने कार्यसमिति निर्वाचनका लागि वर्तमान महासचिव बलराम खतिवडाको नेतृत्वमा नयाँ प्यानल घोषणा गरिएको छ।
आगामी २०८३ जेठ २९ गते हुने निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरिएको उक्त प्यानलमा जलविद्युत् क्षेत्रका अनुभवी व्यवसायी, लगानीकर्ता तथा ऊर्जा क्षेत्रसँग आबद्ध विभिन्न कम्पनीका प्रतिनिधिहरू समावेश छन्। प्यानलले ऊर्जा क्षेत्रको दिगो विकास, निजी क्षेत्रको लगानी प्रवर्द्धन, नीतिगत सुधार तथा जलविद्युत् परियोजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकतामा राखेर निर्वाचनमा होमिएको जनाएको छ।
घोषित प्यानलअनुसार वर्तमान महासचिव बलराम खतिवडा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रहनुभएको छ। उपाध्यक्ष पदमा भरतबहादुर खत्री, भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेल तथा महिला उपाध्यक्षमा सिर्जना खड्का उम्मेदवार रहनुभएको छ।
त्यसैगरी महासचिव पदमा वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बन्नुभएको छ। सचिव पदका लागि कृष्णप्रसाद घिमिरे, ताराबहादुर इस्बो लिम्बु, इन्जिनियर बिरेन्द्रबहादुर मल्ल, संगीता धमला तथा इशा श्रेष्ठलाई उम्मेदवार बनाइएको छ।
कोषाध्यक्ष पदमा इन्जिनियर मिथुन पौडेल उम्मेदवार रहनुभएको छ भने सदस्य पदका लागि सोमनाथ कडेल, डा. भुषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सिए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त तथा प्रदीप ओली उम्मेदवार रहेका छन्।
प्यानलले आगामी कार्यकालमा ऊर्जा क्षेत्रका साझा मुद्दा समाधान, निजी ऊर्जा उत्पादकहरूको हित संरक्षण, प्रसारण लाइन विस्तार, विद्युत् बजार विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको छ।
ईपान नेपालको निजी जलविद्युत् तथा ऊर्जा क्षेत्रमा कार्यरत उत्पादकहरूको छाता संस्था हो। संस्थाले ऊर्जा नीतिको सुधार, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा ऊर्जा क्षेत्रका समस्याहरू समाधानका लागि सरकारसँग समन्वय गर्दै आएको छ।
आगामी निर्वाचनलाई ऊर्जा क्षेत्रको नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको छ। निजी ऊर्जा उत्पादकहरूको भूमिका बढिरहेका बेला आईपानको नयाँ नेतृत्वले ऊर्जा क्षेत्रको भावी दिशा निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Shares