प्रधानमन्त्रीसहित मन्त्रीहरुको शपथ ग्रहण आज, अर्थमन्त्रीमा 'बुलिस' बिष्णु पक्का


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका छन् । अध्यक्ष ओलीलाई संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपतिले प्रतिनिधि सभाका सदस्य केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी दिइन् । प्रधानमन्त्रीका रुपमा ओलिको शपथ आज सोमबार बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रधानमन्त्रीको शपत लगत्तै सबै मन्त्रीहरुलाई समेत शपथ गराउने तयारी ओलीको छ । नेकपा एमालेले ओली नेतृत्वको मन्त्रिमण्डलमा सहभागी हुने मन्त्रीहरूको नाम लगभग टुङ्गो लगाएको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, सचिवद्धय योगेश भट्टराई र छविलाल विश्वकर्मा मन्त्री बन्ने लगभग निश्चित भएको छ । त्यसैगरी नेताहरू कृष्णगोपाल श्रेष्ठ, विद्या भट्टराई, जुलीकुमारी महतो र दामोदर भण्डारीलाई पनि मन्त्री बनाएर आफू नेतृत्वको सरकारमा सहभागी गराउने अध्यक्ष ओलीले सङ्केत गरेका छन् ।
स्रोतका अनुसार अर्थमन्त्री विष्णु पौडेलले सम्हाल्नेछन् भने अन्य मन्त्रीहरुको पोर्टफोलियो अझै टुंगो लागि सकेको छैन ।
पौडेललाई सेयर लगानीकर्ताहरुले बुलिस अर्थमन्त्री मान्छन् । उनकै कार्यकालमा २०७८ भदौ २ गते नेप्से सूचक हालसम्मकै उच्च विन्दुमा ३ हजार १९८ विन्दुमा पुगेको थियो ।
२०७२ असोजदेखि २०७३ साउनसम्म केपी शर्मा ओली नेतृत्वको सरकारको अर्थमन्त्री सम्हालेका थिए– विष्णु पौडेलले । २०७३ साउन १२ मा नै नेप्सेले १८८१ अंकको उच्चतम् रेकर्ड कायम गरेको थियो ।
२०७७ असोजबाट फेरि एमाले सरकारमा रह्यो र पौडेल नै दोस्रो पटक अर्थमन्त्री बने । २०७८ असारसम्म उनी अर्थमन्त्री थिए । उनकै पालामा नेप्सेले पछिल्लो बुल यात्रा गरेको थियो । २०७८ भदौ २ मा नेप्से हालसम्मकै सबैभन्दा उच्च बिन्दु ३१९८ अंकमा पुगेको थियो ।
Shares